बाटोमा हिँड्दै गर्दा
मान्छेकै प्रतिबिम्बसँग तर्सिन्छु म आजकल
स्कूल कलेज मेलापात हाट बजार
कतै कतै पनि......
किन डर लाग्छ आमा ?
भन न किन बोल्दिनौ ?
किन डर लाग्छ मलाई ?
किन जप्न सकिरहेकी छैन म आज
तिमीले सिकाएको
निडर बन्नु पर्छ भन्ने मन्त्र ?
कसरी निडर बनुँ म आमा ?
आज त तिमीलाई मेरो मात्र हैन
मलाई पनि तिम्रो चिन्ता लाग्छ
सुरक्षित त तिमी पनि छैनौ
नहिँड है कतै बाहिर
नजाउ घाँस दाउरा
नजाउ मन्दिर पनि
म पनि जान्न
छोडिदिऊँ बरु बाँच्नै हामी...
आज हाम्रो बाँच्ने अधिकारमाथि तुषारापात भएको छ
आज हाम्रो जीवनमाथि खेलबाड भएको छ
सरले स्कुलमा पढाउनु भएका अधिकारका पाठ गलत सावित भएका छन् आमा !
आत्मसम्मान त भैगो छोड
आज त जीवन नै पनि अरु कसैको क्रुरताले निमोठेको छ
डर लाग्छ आमा... डर लाग्छ
आज पुरुष केवल पुरुष जस्तो देख्दिन म
देख्दिन बाउ बाउजस्तो, दाजु दाजुजस्तो,
साथी साथीजस्तो र आफन्त आफन्तजस्तो...
ए ! मनमा कुण्ठा बोकेर हिँडेका दानवहरु
बाउलाई बाउ नै देख्न चाहान्छु म
दाजुलाई दाजु नै र साथीलाई साथी नै
बिन्ती आफूभित्र कलुषित वासनाको मूल फुटाएर
हरेक पुरुषलाई बलात्कारी नदेखाइ देउ
मेरो विश्वास नडग्मगाइ देउ
मानवलाई मानव नै देख्न चाहान्छु म दानव हैन..........
No comments:
Post a Comment