Sunday, July 5, 2020

हामी पनि देश बाँडौ

आउ अब हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एकटुक्रा खोरिया फाँडौ
आउ अब हामी पनि देश बाँडौ
हो देश सिद्धिदै गइरहेछ
हाम्रो लागि रहला नरहला
त्यसैले ढिलो नगर
झट्ट आउ हामी पनि देश बाँडौ

यो देशको भागबण्डा हुँदै गर्दा
कसैलाइ तराई चाहियो,कसैलाइ पहाड
कसैलाइ उपत्यका चाहियो,कसैलाइ हिमाल
त्यतिले पनि कहाँ पुग्यो र  !!
अझ टुक्रा पारियो यो देशको
ति टुक्रालाई
शक्तिका हिसाबले धेरथोर आपसमा बाँडियो,
जङ्गल एकको भागमा पर्यो,नदी अर्कैको नाममा
हिमाल एकले लियो
मन्दिर लिन बस्यो अर्को कोही लाममा

अरू त अरू तिम्लाई र मलाई पनि छोडेनन्
राष्ट्रियतामा हामीलाई कसैले जोडेनन्
त्यसैले आउ हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

यसरी देशको भागबण्डा हुँदै गर्दा
तिमी र म कहाँ पर्यौ?
फगत् झुट्टा आश्वासन बाहेक
तिम्रो र मेरो नाममा केही परेन
त्यसैले आउ हामी आफै देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

यो देश शक्तिवालहरूको मात्र कहाँ हो र!
अनि होइन भक्तिवालहरूको मात्र पनि
यो त देश हो कुना कन्दरामा हलो जोत्दै गरेका शेक्सपियरहरूको*
अनि हो थोत्रो घरको चुहिने छाना मुनि
जुत्ता सिलाइरहेका टल्सटयहरूको* पनि

त्यसैले ए ! हलो जोत्ने शेक्सपियर र जुत्ता सिलाउने टल्सटयहरू !!

आउ हामी पनि देश बाँडौ
एउटा कुनामा हामी पनि एक टुक्रा खोरिया फाँडौ

हामीलाइ सिङ्गो तराइ चाहिन्न
अनि चाहिन्न संपूर्ण पहाड पनि
हामीलाइ त चाहिएको छ केवल
हलो जोत्न एउटा मलिलो टार
हामीलाइ त चाहिएको छ केवल
जुत्ता सिलाउन एउटा पानी नचुहिने घर
त्यसैले आउ अब हामी पनि देश बाँडौ
एउटा कुनामा एक टुक्रा खोरिया फाँडौ
झट्ट आउ हामी पनि देश बाँडौ ।

No comments:

Post a Comment

छोरीको डर

बाटोमा   हिँड्दै   गर्दा मान्छेकै   प्रतिबिम्बसँग   तर्सिन्छु   म   आजकल स्कूल   कलेज   मेलापात   हाट   बजार कतै   कतै   पनि ...... किन   डर...